कृषि प्रधान देश नेपालमा किन बायोग्यास बल्न संघर्ष गरिरहेको छ ?
- Manish Koirala

- Jun 8
- 6 min read
नेपालमा दशकौँदेखी प्रवर्द्धन हुँदै आएका बायोग्यास प्रणालीहरू विस्तारै अप्रचलित हुँदै गएका छन्, फलस्वारूप समुदायहरू पुनः प्राकृतिक ग्यास र काठदाउरामा फर्कन बाध्य भएका छन्, यो अवस्थाले देशको नवीकरणीय उर्जाको लक्ष्यलाई पनि पछाडी धकेलिरहेको छ ।
मध्य नेपाल स्थित धुलिखेल नगरपालिका वडा-११ निवासी दिपक रेग्मीको घरमा बिगत १८ वर्षदेखि खाना पकाउनकै लागि पेट्रोलियमजन्य इन्धन वा काठदाउरा बालिएको छैन, त्यसको सम्पुर्ण श्रेय जान्छ एउटा सहज यन्त्रलाई, जसले मानिस र घरपालुवा पशुको बिकारलाई इन्धनमा परिणत गर्दछ ।
नेपालजस्तो कृषि प्रधान देशमा, जहाँ आधा भन्दा धेरै घरपरिवारहरू पशुपालनमा आबद्ध छन्, त्यहाँ बायोग्यास डाइजेस्टरहरू नवीकरणीय ऊर्जाको एक क्रान्तिकारी माध्यमको रूपमा हेरिन्थ्यो किनकी यसले फोहरमैला व्यवस्थापन र उर्जा संकट दुवैलाई संम्वोधन गर्दथ्यो । परिवारको लागि यसले भान्साको खर्च कटौती अनि वनजङ्गलको लागि राहतको स्वास फेर्न र सग्लो अडिन मद्दत गर्थ्यो ।
एसियाली मुलुकहरूमा घरेलु बायोग्यास प्रणाली व्यापक रुपमा प्रयोग हुँदै आएको छ, र नेपाल पनि यस प्रविधिको प्रवर्द्धक मध्ये एक हो । अफसोस् ! अहिले यो छवि परिवर्तन हुँदैछ । अधिकाम्शं गरिब परिवारहरू या त यो प्रविधिलाई खपत गर्न सक्दैनन्, वा यस प्रविधि सञ्चालनको लागि आवश्यक पर्ने पशुपालन गर्न सक्दैनन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपालका उप-कार्यकारी निर्देशक डा. नारायण अधिकारी बताउँनुहुन्छ, “सम्पन्न घरपरिवारहरू यस नविनत्तम् प्रविधिलाई तत्कालै अपाउन सक्छन्, जबकि अन्य परिवारहरु यसप्रति अझै अनिच्छुक देखिन्छन् ।”
सन् १९९२ देखि २०११ सम्म, नेपाल र नेदरल्याण्ड सरकारको संयुक्त सहयोगमा यस हिमाली मुलुकमा २,६०,००० घरयासी वायोग्यासहरू स्थापना गरियो । यी डाइजेस्टरहरुले जैविक पदार्थहरू, जस्तै पशु तथा मानविय विकारलाई मिथेन ग्यासमा परिवर्तन गर्छन्, जुन खाना पकाउने चुल्हो बाल्न अथवा विधुतीय चिम बाल्न प्रयोग गर्न सकिन्छ ।

दिपक रेग्मीको परिवार एकाध परिवार भित्र पर्दछ जसले निरन्तर रुपमा वायोग्यास डाइजेस्टर प्रयोग गरिरहनु भएको छ । विगतमा रेग्मीले प्रायः डाइजेस्टरमा धेरै जसो गाईबस्तुको गोबर प्रयोग गर्नुहुन्थ्यो तर अहिले घरको शौचालयबाट आउने मलमुत्रयुक्त पानीमामात्र उनिहरूको डाइजेस्टर निर्भर छ। डाइजेस्टर प्रणालीको अन्ततिरबाट निस्कने अवशेषहरू करेसा बारीमा मलको रुपमा छर्कन सुविधजनक रुपमा राखिएको छ ।
गुणस्तरीय जीवनको खोजीमा मानिसहरू शहरी क्षेत्रतर्फ पलायन हुँदै गर्दा नेपालका ग्रामिण भेगमा भने पशुपालन कार्य क्रमस: कम हुँदै गएको छ । “धेरैजना कामको लागि खाडी मुलुकहरुमा पलायन भएका छन् अनि जोसँग सामार्थ्य छ, उनीहरू पनि अमेरिका र क्यानडा तिर बसाइँ सरीरहेका छन्,” अधिकारी भन्नुहुन्छ ।
यसको परिणामस्वरूप, तीन दशक बितिसक्दा पनि, बायोग्यासको प्रभाव देशमा अझै अनिश्चित अवस्थामा छ।
विभिन्न प्रयासहरूको बावजुद, पछिल्लो दश वर्षमा नेपाली घरहरूमा लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी) सिलिन्डरको प्रयोग दोब्बर भएको छ, अधिकारीका अनुसार, ४०% भन्दा अधिक घरहरु अहिले ग्यास सिलिन्डरमा निर्भर छन् । एल.पि.जी ग्यासको निर्यातमा भारतसँगको अधिक परनिर्भरताले नेपालमा उर्जा सुरक्षाको जोखिम बढाएको छ, विशेषगरी भारतले पहिले पनि आर्थिक नाकाबन्दी गरेर नेपालको उर्जाको आपूर्तिलाइ अवरुद्ध पारेको इतिहास छ ।
“बायोग्यास डाइजेस्टर प्रणाली गाईवस्तुको गोबर र शौचालयबाट आउने मलमुत्रबाट संञ्चालित हुन्छ । यद्यापि गोबरको मात्र कति हुन्छ भन्नेकुरा उक्त गाईको तौलमा पनि निर्भर रहन्छ । सामान्यतयः दुइवटा गाईबाट लगभग ४० देखि ५० किलो मल प्राप्त गर्न सकिन्छ जुन चार जनाको परिवारलाई खाना पकाउन दैनिक आवश्यक पर्ने ग्यास उत्पादन गर्न पर्याप्त हुन्छ,” हाल क्यानडाको युनिभर्सिटी अफ सास्काचेवानमा अध्ययनरत नविकरणीय ऊर्जा प्रविधिमा विद्यावारिधि गरिरहेका नेपाली विद्यार्थी वासु गौतम भन्नुहुन्छ ।
वायोग्यास प्रणालीबाट शेषरहेको पदार्थहरू उच्च गुणस्तरको मल हो । “ जब हामीले यो मल प्रयोग गर्थ्यौ सागहरू यति मौलाउथे कि तिनले मानिसलाई पनि ढाकछोप गर्थे।,” रेग्मी सम्झनुहुन्छ।
सन् २०२० मा प्रकासित एक अध्ययन अनुसार, बायोडाइजेस्टरले उत्पादन गर्ने ग्यासको मात्रा “घाँसपातको उपलब्धता, पशु-चरनको समय, गोबरको गुणस्तर, र मौसमी परिवर्तन” जस्ता कारक तत्वहरुमा निर्भर गदर्छ । हिमाली क्षेत्रहरूमा प्रति घरधुरी पशुको संख्या बढी भएता पनि त्यहाँ उत्पादन हुने कुल गोबरको मात्रा पहाडी र तराई क्षेत्रमा पशुपालनबाट उत्पादन हुने गोबरको ३०% मात्र हुने गर्दछ, यहि कारणले नै नेपालमा बायोग्यासको कम प्रयोगमा प्रत्यक्ष प्रभाव पारेको छ।

बायोग्यासले दाउरा संकलन र गोबरबाट ब्रिकेट बनाउनुपर्ने झन्झटलाई कम गरेको छ जुन परमपरागत रुपमा ग्रामीण नेपाली महिला र बालबालिकाको काँधमा पर्ने गर्दछ। बायोग्यास डाइजेस्टर प्रयोग गर्ने एक परिवारले हरेक वर्ष एउटा वयस्क रुख जोगाउछन्, जुन सालाखाला १५० भारी दाउरा हुन जाँदछ, जसलाई अन्यथा दैनिक रुपमा खाना पकाउन प्रयोग गरिन्थ्यो ।
“नेपालसँग २० लाख बायोग्यास प्लान्टहरु स्थापन गर्ने सम्भावना भए पनि अहिले सम्म करिब ४ लाख ५० हजार मात्र जडान भएका छन्,” के पी बिजनेसका प्रबन्ध निर्देशक कृष्ण प्रसाद ढकाल बताउँनुहुन्छ ।
अनुसन्धानले देखाए अनुसार, पशुहरूको गोबर प्रयोग गरी नेपालले प्रति वर्ष ३ अर्ब घन मिटर बायोग्यास उत्पादन गर्न सक्ने सम्भावना राख्दछ, जुन ११ करोड ग्यास सिलिन्डरको बराबर हुन्छ।
बायोग्यास डाइजेस्टर प्रयोग गर्ने परिवारले खाना पकाउन ग्यास सिलिन्डर (एलपीजी)को खरिद नगरेर वार्षिक रुपमा पन्ध्र हजार नेपाली रूपैयाँ (१११ अमेरिकी डलर बराबर) बचत गर्न सक्छन् ।
रेग्मीको गाँउमा हाल वाँकी रहेका मानिसहरू अधिकाशं बुढापाकाहरू पार्दछन, जो गाईवस्तु पाल्न वा वायोग्यास प्रणालीलाई निरन्तरता दिन संधर्ष गरिरहेका छन् । “दुई जना वृद्ध मानिसलाई एउटा ग्यास सिलिण्डर दुई देखी तीन महिनासम्म चलाउन प्रयाप्त हुन्छ,” उहाँ भन्नुहुन्छ । “यसको मतलब यो होइन की यो प्रविधि अबको समयमा उपयोगी नै छैन, तर वृद्ध मानिसहरू गाईभैंसी पाल्न सक्दैनन्, न त पाल्न चाहान्छन् नै ।”
बायोग्यास डाइजेस्टरको आफ्नै समस्याहरू छन्, यस बाहेक जब यो पुरानो हुँदै जान्छ, यसले नियमित मर्मतसम्भार माग्छ ।
“बायोग्यास बाल्दा चुल्हाबाट निस्किने हाइड्रोजन सल्फाइड ग्यास जब ग्रामीण घरहरूमा प्राय: प्रयोग हुने जस्तापाताका छानाहरूसँग रसायनिक प्रतिक्रिया गर्छ, यसले सल्फ्यूरिक एसिड बनाउँछ। उक्त एसिडले छानाहरु खियाउछ र मर्मत खर्च झन बढाउने गर्छ। अधिक मात्रामा यो ग्यास स्वास प्रस्वासबाट लिदाँ वाकवाकी समेत लग्ने गर्छ तर बायोग्यास डाइजेस्टरमा फिल्टर जडान गर्यो भने छाना खिइने समस्याबाट छुटकारा पाउन सकिन्छ”, गौतम बताउनुहुन्छ ।

धेरैजसो घरायसी बायोग्यास डाइजेस्टरहरूमा मर्मतसम्भारको ठुलो चुनौती रहेको छ। “पचास देखि पचपन्न प्रतिशत जति बायोडाइजेस्टरहरू स्थापना कालदेखी नै बिग्रने सम्भावना रहन्छ,” गौतमले भन्नुभयो । डाइजेस्टर भित्र उपलब्ध हुने ब्याक्टेरियाहरुले जैविक पदार्थलाई विच्छेदन गरेर ग्यास उत्पादन गर्दछ त्यसैले, त्यहाँ कुनै रसायन, विषादी वा रोगी जनावरहरुको फोहोर जान नपाओस् भन्ने कुरामा विशेष ध्यान राख्नुपर्छ। “यदि यस्तो भयो भने, डाइजेस्टर भित्रको जैविक प्रक्रिया बिग्रन्छ र फलस्वारुप ग्यास उत्पादनमा गिरावट आउँछ,” गौतमले स्पष्ट पार्नुभयो।
सन् २०२२ मा गरिएको एक अध्ययनले काभ्रे जिल्लाका घरेलु बायोग्यास डाइजेस्टरहरूको अवस्था मूल्याङ्कन गर्दा डाइजेस्टरमा हालिएको करिब ५५ प्रतिशत मिश्रणबाट कुनै ग्यास नै उत्पादन नभएको अनि १८ प्रतिशत डाइजेस्टर पूर्ण रूपमा निष्क्रिय रहेको कुरा देखाएको थियो ।
तर पनि, ढकालले शहरतिर बसाईसर्ने मानिसहरूलाई आफ्नो नयाँ निर्मित घरहरुमा सेप्टिक ट्याङ्कीको सट्टा बायोग्यास डाइजेस्टर राख्ने सल्लाह दिनुहुन्छ, किनकि बायोग्यास प्रणालीको अनगिन्ति फाइदाहरू छन्। नवीकरणीय ऊर्जाको क्षेत्रमा अनुसन्धान र विकास गर्दैगर्दा ढकालले देशभर लगभग ४ हजारभन्दा बढी घरहरुमा घरेलु डाइजेस्टर प्रणाली स्थापना गर्नमा सहजीकरण गरिसकेका छन्। उनले भन्नुभयो, “यदि प्रविधिको उचित ज्ञान हुने हो भने एक साधरण मानिसले पनि यसलाई सजिलैसँग चलाउन सक्छ। ”
“शतप्रतिशत अनुदान दिने भन्ने कुरा कहिल्लै भनिएको थिएन, यो त परीक्षण कार्यक्रम मात्रै थियो।”
नेपाललाई उर्जामा आत्मनिर्भर बनाउन विज्ञहरूले उर्जाको मिश्रित मोडलको खोजी गर्न तथा बायोग्यासको प्रयोग अनुसरणको लागि जनचेतनामुलक कार्यक्रमहरूका साथसाथै सजिल्लै बोक्न वा सार्न मिल्ने बायोग्यासका नमुनाहरू प्रवर्द्धन गर्नु पर्ने सुझाएका छन्।
“हामीले सौर्य उर्जा, बायोग्यास तथा वायु उर्जालाई उपयोगमा ल्याउनु पर्छ,” गौतम भन्नुहुन्छ, खाना पकाउनको लागि विकल्पमा विधुतिय उर्जामा जोड दिदाँ नेपाली घरपरिवारको लागी यो अर्को वहुआयामिक उर्जाको स्रोत हुनेछ ।
वन्यजन्तु संरक्षण नेपालका कार्यक्रम अधिकृत प्रकाश किरण जंग थापाले निम्न आय भएका आम नेपाली समुदायहरु, जो एलपिजी ग्यासका सिलिण्डरहरू किन्न सक्दैनन्, उनीहरुको लागि उत्पादनमा सस्तो र स्थापना गर्न सहज हुनेगरी बायोग्यास डाइजेस्टर परियोजनाको सुरुवात गर्नु भएको छ । थापा भन्नुहुन्छ, “पहिले उनीहरुले खाना पकाउनको लागि आगो सल्काउनु पर्थ्यो, बाल्नु पर्थ्यो, तर अहिले घरघरमा बायोग्यास प्रणाली जडान गरेपछि, एक चुड्कीको भरमा ग्यास चुल्हो बाल्न सक्छन् ।”
थापाले संञ्वालन गर्नुभएको परियोजनामा एक जर्मन दाता र साना अनुदानहरूको सहयोग उपलब्ध छ र हाल कैलाली जिल्लाका करिब दुई सय घरहरूमा चार घन मिटर आकारका बायोग्यास डाइजेस्टरहरूको जडान अन्तिम चरणमा रहेको छ । “मानिसहरू गाउँबाट शहर-बजारतिर बसाइँसर्ने लहर बढेसँगै, गाँउघरमा गाईभैंसी पाल्नेको संख्या घट्दै गइरहेको छ । त्यसैले यस्तो अवस्थामा चार घन मिटरको डाइजेस्टर नै दिगो र उपुयुक्त हुन्छ। यदि भविष्यमा गाईवस्तुको संख्या घटेर दुई वा एकमा झर्यो भने पनि, शौचालय डाइजेस्टरमा जोडिएको अवस्थामा, यो प्रणाली निरन्तर चलिरहन्छ,” उनले स्पष्ट पारे।

उहाँको टोलीले स्थानिय बासिन्दा तथा बायोग्यास प्रयोगकर्ताहरूलाई आवश्यक पर्ने तालिमको सहजिकरण गरिरहेको छ, जसले उक्त प्रणालीको स्थापनापछि दिगो रुपमा सञ्चालन होस् भन्ने सुनिश्चितता राख्दछ ।
घरायसी बायोग्यास डाइजेस्टरहरू विभिन्न साइज तथा मोडलमा पाइन्छन्। प्रारम्भिक डिजाइनमध्ये जि.जि.सि. २०४७ मोडल, एक निश्चित गुम्बज आकारको हुन्छ जुन अधिकाम्शं घरहरूमा प्रयोग भइरहेको छ। साथै, इजरायली कम्पनीले बनाएको प्लास्टिकबाट निर्मित सजिल्लै ओसार पोसार गर्न मिल्ने नयाँ डाइजेस्टर मोडेल, होमबायोग्यास, पनि नेपालमा लोकप्रिय बन्दै गइरहेको छ।
रेग्मीको परिवारका लागि बायोग्यास केवल इन्धन मात्र होइन, यो त उहाँको जीवनको एउटा महत्वपूर्ण उपलब्धि पनि हो। उहाँहरूले आफैं गहिरा खाल्डो खनेर, आवश्यक सामग्री जुटाएर र सीमित सरकारी अनुदानमै यो प्रणाली सञ्चालनमा ल्याउनुभयो। नेपालभरि, धेरैले अझै पनि यो परिवर्तनलाई एक गर्विलो अध्यायको रुपमा सम्झन्छन्।
तर आज यो महत्वपुर्ण प्रविधिको प्रयोगको विस्तारमा सुस्तता छाएको छ। स्पष्ट रुपमा भन्नुपर्दा बायोग्यास प्रविधिको कथा फेरि एकपटक पुनरुत्थान हुन जरूरी छ। यस्तो पुनरुत्थान जसमा नेपाल सरकार, नागरिक समाज र नवप्रवर्तनशील नागरिकहरूको निरन्तर सहयोग र योगदान आवश्यक छ।











